घोराही, दाङ। घोराही–१५ स्थित सभ्यता पाठशालाले भारतको लखनऊमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम कोफास २०२६ मा सहभागी हुने विद्यार्थीहरूलाई बिदाइ गरेको छ। आगामी असोज २८ गतेदेखि आयोजना हुने उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले सातवटा विधामा सहभागिता जनाउने भएका छन्।
विद्यालयका प्रिन्सिपल केशरमान बुढाथोकीको अध्यक्षता तथा घोराही बनाऔँ अभियानका संयोजक एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सविन प्रियासन चौधरीको प्रमुख आतिथ्यतामा बिदाइ कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले अन्तर्राष्ट्रिय कार्यक्रममा प्रस्तुत गर्ने प्रस्तुतिको नमुना झलकसमेत देखाएका थिए।
कार्यक्रममा प्रमुख अतिथि प्रियासन चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु विद्यार्थीका लागि आफ्नो प्रतिभा प्रस्तुत गर्ने, नयाँ अनुभव हासिल गर्ने तथा विभिन्न देशका विद्यार्थीबीच ज्ञान, सीप र संस्कृतिको आदानप्रदान गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय प्रतियोगिता पुरस्कार जित्नमा मात्र सीमित नभई आफ्नो क्षमता चिनाउने, नयाँ कुरा सिक्ने र आत्मविश्वास बढाउने माध्यमसमेत भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासित, मर्यादित र आत्मविश्वासी भएर सहभागी हुन आग्रह गर्नुभयो।
उहाँले विद्यार्थीको सफलताका लागि विद्यालय, शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउँदै किताबी ज्ञानसँगै व्यवहारिक सिकाइ, सिर्जनशीलता र नेतृत्व क्षमताको विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
त्यस अवसरमा विद्यालयका प्रिन्सिपल केशरमान बुढाथोकीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पढाइसँगै अतिरिक्त क्रियाकलाप, सिर्जनात्मक अभ्यास र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई विद्यालयले प्राथमिकता दिँदै आएको बताउनुभयो। यस्ता कार्यक्रमले विद्यार्थीमा अनुशासन, सहकार्य, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
‘उद्देश्यपूर्ण प्रविधिसहित मानवीयता’ भन्ने अवधारणामा केन्द्रित कोफास २०२६ मा विद्यालयका विद्यार्थीहरूले सातवटा विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन्। कार्यक्रमको सहजीकरण तथा टोली नेतृत्व विद्यालयका एकेडेमी निर्देशक कृष्णदेव थापाले गर्नुहुनेछ भने सहायक टोली नेताका रूपमा पुष्पा तामाङ, कपिल बुढाथोकी र सोनिका विश्वकर्मा रहनुहुनेछ।
सभ्यता पाठशालाले यसअघि भारतको लखनऊमा आयोजित सेलेस्टा २०२६ मा नेपाली मौलिक लोकनृत्य प्रस्तुत गरेको थियो। त्यस्तै, पोखरास्थित फिस्टेल एकेडेमीद्वारा आयोजित फिस्टेल संयुक्त राष्ट्रसंघीय नमुना सम्मेलन ३.० मा समेत विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाइसकेका छन्।
विद्यालयले विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका शैक्षिक र प्रतिस्पर्धात्मक मञ्चमा सहभागी गराउने कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।
