Skip to main content

Khulla Chautari

२०८३ श्रावण ३०, शनिबार ०५:१४
२०८३ श्रावण ३०, शनिबार ०५:१४

दाङमा विद्यालय व्यवस्थापन समिति निर्वाचनका क्रममा शिक्षा अधिकृतमाथि मोबिल खन्याएको आरोपमा वडा सदस्य पक्राउ

दाङ — विद्यालय व्यवस्थापन समिति (एसएमसी) निर्वाचनका क्रममा शिक्षा अधिकृतमाथि प्रयोग गरिएको इन्जिन तेल (मोबिल) खन्याएर दुर्व्यवहार गरेको आरोपमा घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम) पक्राउ परेका छन्।

४२ वर्षीय बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले सोमबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार, गत साउन ११ गते पद्मोदय पब्लिक मोडल माध्यमिक विद्यालयको व्यवस्थापन समिति निर्वाचनका लागि निर्वाचन अधिकृतको जिम्मेवारीमा मोटरसाइकलमार्फत जाँदै गरेका शिक्षा अधिकृत अजय बोहोरालाई बुढाथोकीले बाटोमै रोकी शरीरभर प्रयोग गरिएको मोबिल खन्याएका थिए।

घटनापछि फरार रहेका बुढाथोकीविरुद्ध शनिबार अमानवीय तथा अपमानजनक व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको थियो। त्यसपछि दाङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी घोराही–१५ बाट लुकिछिपी बसेकै अवस्थामा पक्राउ परेका हुन्।

घटनापछि घोराही उपमहानगरपालिकाका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेका थिए।

बुढाथोकीले विद्यालय व्यवस्थापन समिति निर्वाचन गैरकानुनी भएको दाबी गर्दै त्यसको विरोध गर्दै आएका थिए। आफ्ना आपत्तिहरूको सुनुवाइ नभएपछि बाध्य भएर कानून उल्लंघन गरेको उनले बताएका जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी डा. हेम केसीका अनुसार बुढाथोकीलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.