Skip to main content

Khulla Chautari

२०८३ मंसिर ९, मंगलवार ०८:१७
२०८३ मंसिर ९, मंगलवार ०८:१७

नोभा कलेजमा बीबीए र आईटीका विद्यार्थीका लागि प्यानल डिस्कसन

घोराही। नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने तथा व्यावसायिक क्षेत्रका अवसर र चुनौतीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कलेजका अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक सेठी, चार्टर्ड एकाउन्टेन्ट कैलाश खत्री तथा बैंक म्यानेजरहरू शिशिर सुवेदी, चित्रबहादुर ओली र केशवराज तिवारीले विद्यार्थीहरूसँग व्यावसायिक अनुभव, वित्तीय व्यवस्थापन, बैंकिङ सेवा, नेतृत्व क्षमता र सूचना प्रविधिको भूमिकाबारे छलफल गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि प्रियासनले शिक्षालाई प्रमाणपत्रमा मात्र सीमित नराखी सीप, उद्यमशीलता, उत्पादन र प्रविधिसँग जोड्नुपर्ने बताए। उनले बीबीए र आईटी अध्ययनरत विद्यार्थीले आफ्नो ज्ञानलाई समाजका समस्या समाधान गर्न, देशभित्रै रोजगारी सिर्जना गर्न तथा मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउन प्रयोग गर्नुपर्नेमा जोड दिए।

“हामीले पढेको शिक्षा व्यवहारमा लागू हुन सक्यो भने मात्रै त्यसको वास्तविक अर्थ हुन्छ,” उनले भने। विद्यार्थीलाई जागिर खोज्ने जनशक्तिमा मात्र सीमित नराखी उद्यमी, सिर्जनशील नागरिक र जिम्मेवार नेतृत्वका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।

कलेज प्रमुख केशरमान बुढाथोकीले विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई वास्तविक कार्यक्षेत्रसँग जोड्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रमले विद्यार्थीलाई अनुभवी व्यावसायिक व्यक्तित्वसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्नुका साथै भविष्यको करियर, उद्यमशीलता र व्यावसायिक विकासबारे जानकारी हासिल गर्न सहयोग पुर्‍याएको कलेजले जनाएको छ।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.