घोराही, दाङ — विपन्न तथा आर्थिक समस्यामा रहेका विद्यार्थी, किसान, मजदुर र ज्येष्ठ नागरिकका लागि सहयोग तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराहीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।
२०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घरका सञ्चालक त्रिलोचन खनालले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको समेत उपस्थिति थियो।
सहमतिअनुसार आर्थिक तथा सामाजिक रूपमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराउने, किसान र मजदुरका लागि अभिमुखीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र ज्येष्ठ नागरिकलाई सहयोग तथा सम्मान गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।
त्यस्तै शिक्षा, स्वास्थ्य, सरसफाइ, श्रम, सीप विकास, आत्मनिर्भरता तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम संयुक्त रूपमा सञ्चालन गर्ने सहमति भएको छ। प्राकृतिक विपद्, सामाजिक संकट वा विशेष परिस्थितिमा आवश्यकताअनुसार मानवीय सहयोग तथा राहतमा समेत सहकार्य गरिने जनाइएको छ।
घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले विपन्न विद्यार्थी, किसान, मजदुर र ज्येष्ठ नागरिकका समस्या समाजकै साझा जिम्मेवारी भएको बताए। उनले सहकार्यलाई कागजमा सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाली जुत्ता घरका सञ्चालक खनालले व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने मान्यताअनुसार सहकार्य गरिएको बताउँदै विपन्न वर्गका लागि सञ्चालन हुने कार्यक्रममा संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सुवेदीले सहमतिलाई सामाजिक उत्तरदायित्वसँग जोडिएको सकारात्मक पहलका रूपमा व्याख्या गर्दै कार्यक्रमलाई पारदर्शी, निरन्तर र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए।
सहमति नाफारहित तथा सामाजिक सेवामुखी उद्देश्यमा आधारित रहनेछ। कार्यक्रमको प्रकृति, स्थान, समय, बजेट तथा स्रोत–साधन दुवै पक्षको आपसी समन्वयमा निर्धारण गरिने जनाइएको छ। सहमतिपत्र २०८३ साल साउन २५ गतेदेखि चैत्र मसान्तसम्म लागू हुनेछ भने आपसी सहमतिमा अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ।
